२५ आश्विन २०८३, आईतवार

यात्रुवाहक युक्रेनी बसमाथि रुसी हमला, कम्तीमा ३० जनाको मृत्यु


काठमाडौं । युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको क्रामातोर्स्क शहरमा यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार बिहान यात्रु बोकेर गुडिरहेका दुईवटा सार्वजनिक बसनजिक रुसी ग्लाइड बम प्रहार गरिएको थियो। आक्रमणपछि एउटा बस पूर्ण रूपमा जलेर नष्ट भएको र अर्को बसमा समेत आगलागी भएको बताइएको छ।

आक्रमणका कारण क्रामातोर्स्कमा सार्वजनिक यातायात सेवा निलम्बन गरिएको छ। घटनास्थलमा उद्धार तथा राहत कार्य भइरहेका बेला थप रुसी ड्रोन आक्रमणका कारण उद्धारमा समेत कठिनाइ भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

युक्रेनी अधिकारीहरूले घटनालाई सर्वसाधारणमाथिको आक्रमण भन्दै रुसी सेनाले यात्रु बसलाई नै निशाना बनाएको आरोप लगाएका छन्। यद्यपि रुसले युक्रेनमा सर्वसाधारणलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै आएको छ।

 

उद्धार कार्य अघि बढ्दै जाँदा मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ। युक्रेनको राज्य आपत्कालीन सेवाले पछि ३३ जनाको मृत्यु र १८ जना घाइते भएको जनाएको छ; यसमध्ये तीन जनाको मृत्यु क्रामातोर्स्क आसपासको बेलेन्के क्षेत्रमा भएको छुट्टै आक्रमणमा भएको उल्लेख छ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?