भैरहवा । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गरेर अघि बढ्न सके कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्।
आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले कांग्रेसलाई बाहिरका शक्तिले भन्दा आफ्नै नेता तथा कार्यकर्ताको असमझदारीले कमजोर बनाउने गरेको टिप्पणी गरे।
उनले नेताहरूको ध्यान पद र पैसामा केन्द्रित हुनुभन्दा राष्ट्रको विकास र जनताको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देशमा मेडिकल कलेज, विश्वविद्यालय, सडक तथा हवाई सेवाको विस्तार भएको स्मरण गर्दै उनले कांग्रेसको इतिहास, सिद्धान्त र राजनीतिक विरासत बलियो रहेको उल्लेख गरे। धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताका विषयमा पनि आफ्नो धारणा स्पष्ट रहेको उनले बताए।
कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा र सफल कार्यान्वयनमा जोड दिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र नेपाली कांग्रेसको सुझबुझपूर्ण भूमिकाका कारण संविधान जारी हुन सकेको उनको भनाइ थियो।
त्यस्तै, पूर्वमन्त्री एनपी साउदले नेता निर्माणमा परिस्थिति, मुद्दा र समयको आवश्यकताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
प्रकाशित मिति: ८ मंसिर २०८३, सोमबार



