७ मंसिर २०८३, आईतवार

राष्ट्रिय स्वाभिमानमा आँच आउने काम कुनै पनि सरकारले गरे स्वीकार गर्दैनौँ: माधव नेपाल


काठमाण्डौ, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि काम स्वीकार्य नहुने चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै नेपालले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको मुख्य उद्देश्य भएको बताए।

 

उनले राष्ट्रियता र स्वाधीनता केवल राजनीतिक मुद्दा नभई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय भएको उल्लेख गरे।

 

‘देशको स्वाभिमानमा आँच आउने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भने।

 

नेपालले जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र नेपाली हुनुको गौरवबोध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको स्पष्ट पारे।

 

कार्यक्रममा उनले विश्वका विभिन्न मुलुकमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन पुनः सक्रिय हुँदै गएको दाबीसमेत गरे। ब्राजिलमा लुलाको विजय तथा ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका विभिन्न देशमा देखिएका राजनीतिक परिवर्तनबाट नेपाली कम्युनिष्ट आन्दोलनले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो।

 

नेपाली कम्युनिष्ट आन्दोलनका सामु चुनौती रहे पनि निराश नभई आन्दोलनको रक्षा र विकासमा लाग्नुपर्ने उनले बताए।

 

राष्ट्रियता र जनअधिकारको रक्षा गर्नुका साथै जनताका समस्या उजागर गर्दै समाजको परिवर्तन र रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।


प्रकाशित मिति: ७ मंसिर २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?