८ मंसिर २०८३, सोमबार

बालेन र कुमार बेन निकट व्यक्तिले मविरुद्ध उजुरी हालेको आशंका छ: अजयबाबु शिवाकोटी


काठमाण्डौ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट सम्बन्ध रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको आशंका व्यक्त गरेका छन्।

 

पार्टी सभापतिविरुद्ध फैलाइएको भनिएको दुष्प्रचारबारे टिप्पणी गरेकै कारण प्रहरीले पटक–पटक ताकेता गरेपछि शिवाकोटी आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका हुन्।

 

ब्युरो परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपक्षीको आवाज दबाउन र व्यक्तिगत रिसइबी साध्न राज्य संयन्त्रको दुरुपयोग भइरहेको आरोप लगाए।

 

आफूविरुद्ध उजुरी दिने व्यक्तिबारे प्रश्न गर्दा शिवाकोटीले सरकार वा सरकार निकट व्यक्तिहरूले उजुरी दिएको हुन सक्ने आशंका गरे। उनले प्रधानमन्त्री बालेन र कुमार बेनसँग निकट रहेर उठबस गर्ने व्यक्तिहरूतर्फ संकेत गर्दै भने, ‘सरकारकै मान्छेले हालेका हुन् कि सरकार निकटकाले हालेका हुन् ? सरकारको नेतृत्वमा पुगेकाहरूसँग फोटो खिचाएका, बालेन र कुमार बेनसँगै खाना र दारु खाएकाहरूले पो हालेका हुन् कि ! तर जसले उजुरी हालेको भए पनि म कानुन मान्ने मान्छे भएकाले छलफलका लागि आएको हुँ।’

 

शिवाकोटीले प्रधानमन्त्री बालेनको विगतको अभिव्यक्ति स्मरण गराउँदै अहिलेको सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए। कुनै समय बालेनले सिंहदरबार जलाइदिने अभिव्यक्ति दिँदा त्यसलाई अभिव्यक्ति स्वतन्त्रता र आवेगका रूपमा व्याख्या गरिएको तर अहिले उनकै नेतृत्वमा प्रतिपक्षीको आवाज दबाउने प्रयास भइरहेको उनको आरोप छ।

 

उनले वर्तमान सरकारलाई ‘नयाँ बोतलमा पुरानै रक्सी’ को संज्ञासमेत दिए।

 

कांग्रेसको बढ्दो जनसमर्थनबाट सरकार अत्तालिएको दाबी गर्दै शिवाकोटीले बालुवाटारलाई प्रचारबाजीको केन्द्र बनाइएको आरोप लगाए। पार्टी सभापतिविरुद्ध प्रायोजित तथा भ्रामक सामग्री तयार पारेर पक्राउ पर्ने हल्ला फैलाइएको भन्दै उनले यस्ता गतिविधिको पार्टीले प्रतिवाद गर्ने बताए।

 

आफू कानुन र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने भएकाले भागेर नहिँडी साइबर ब्युरोमा उपस्थित भएको बताउँदै शिवाकोटीले लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार निरंकुशतातर्फ उन्मुख हुन खोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।


प्रकाशित मिति: २४ कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?