काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विश्वका शक्तिशाली राष्ट्रहरूलाई अर्को देशको सार्वभौमिकता र सम्मानको कदर गर्न सन्देश दिएका छन्।
‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस् र कुनै पनि देश विकासको अधिकारबाट वञ्चित नहोस्’ भन्ने धारणा राख्दै प्रचण्डले विश्वमा शक्ति र सामर्थ्यभन्दा आपसी सम्मान, सहअस्तित्व र सहकार्य महत्वपूर्ण रहेको बताएका हुन्।
‘फर द फ्रिडम अफ नेसन्स’ अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको साधारण सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, आर्थिक स्वतन्त्रता, विश्व शान्ति र सामाजिक न्यायका विषय उठाएका थिए।
रुसको सत्तारूढ दल युनाइटेड रसियाद्वारा आयोजित सम्मेलनमा विश्वका ७६ देशका ४८० प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत लिखित सम्बोधन पठाएका थिए।
सम्बोधनका क्रममा प्रचण्डले राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैमा आर्थिक स्वतन्त्रता सुनिश्चित नहुने उल्लेख गर्दै प्रत्येक राष्ट्रले आफ्नो आर्थिक नीति र विकासका प्राथमिकता आफैँ निर्धारण गर्न पाउनुपर्ने बताए।
उनले विश्व व्यवस्था कुनै एक वा सीमित शक्तिशाली राष्ट्रको प्रभावमा मात्र चल्न नहुने धारणा राख्दै सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकता औँल्याए।
भारत र चीनको बीचमा रहेको नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको मैदान नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताए।
रुससँग नेपालको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रचण्डले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको पनि स्पष्ट पारे।
उनले विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र तनावको समाधान संवाद, कूटनीति तथा शान्तिपूर्ण वार्ताबाट खोज्नुपर्नेमा जोड दिएका थिए।
मस्कोमा प्रचण्डले राखेको ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’ भन्ने अभिव्यक्तिले उनको सम्बोधनको मूल सन्देशलाई स्पष्ट पारेको छ। राष्ट्रिय स्वाधीनता र पारस्परिक सम्मानको पक्षमा उनले राखेको यो धारणाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको परराष्ट्र नीतिको महत्त्वसमेत उजागर गरेको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, मंगलवार



