भारतको मध्यप्रदेशस्थित डिन्डोरी जिल्लामा रसबरी भन्दै दिइएको विस्फोटक पदार्थ मुखमा विस्फोट हुँदा एक ३५ वर्षीय युवकको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतक राजेन्द्र बरौतिया डिन्डोरी जिल्लाको पडरिया छन्ता गाउँका बासिन्दा थिए। गत मंगलबार राति उनी परिवारसँग खाना खाइसकेपछि घरको आँगनमा आगो तापेर बसिरहेका थिए।
सोही क्रममा गाउँकै रामभगत बरौतिया त्यहाँ पुगे। कुराकानी भइरहेका बेला उनले राजेन्द्रलाई रसगुल्ला (रसबरी) भन्दै एउटा वस्तु खान दिए। मिठाई सम्झेर राजेन्द्रले मुखमा राखेर टोक्नेबित्तिकै ठूलो विस्फोट भयो।
विस्फोटबाट उनको मुख र जबडामा गम्भीर चोट लाग्यो। परिवारले तत्काल अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भयो।
प्रहरीका अनुसार उक्त वस्तु जंगली बँदेल मार्न प्रयोग गरिने विस्फोटक पदार्थ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनामा संलग्न भएको आरोपमा रामभगतलाई पक्राउ गरिएको छ।
प्रहरीले आरोपितविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ तथा विस्फोटक पदार्थसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान गरिरहेको छ। विस्फोटक पदार्थ कहाँबाट ल्याइएको थियो र यस्तो घटना गराउनुको कारण के थियो भन्नेबारे अनुसन्धान जारी छ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शुक्रबार



