सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र आवासको व्यवस्था गर्छौं : हर्क साम्पाङझापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी, गरिब तथा विपन्न नागरिकको हकहितका लागि प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न स्थानमा श्रमदानमार्फत जनताको सेवा गरिरहेको बताए। श्रमको सम्मान र सेवाभाव नै आफ्नो पार्टीको राजनीतिक आधार भएको उनको भनाइ थियो।
सुकुम्बासी समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै साम्पाङले आफ्नो पार्टी सरकारमा पुगेपछि भूमिहीन नागरिकलाई जग्गा तथा व्यवस्थित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “अहिले सरकारमा नभएकाले हामीले आवाज उठाउने काम मात्रै गर्न सकेका छौँ। सत्तामा पुगेपछि सुकुम्बासीलाई जग्गा र बसोबासको उचित व्यवस्था मिलाउँछौँ।”
यसैबीच, झापामा जंगली हात्तीका कारण स्थानीयले भोग्दै आएको समस्या पनि उनले उठाए। हात्तीको आक्रमणबाट नागरिकको ज्यान तथा सम्पत्तिमा भइरहेको क्षति रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको माग थियो।
काँकडभिट्टाको कार्यक्रमपछि अर्जुनधारामा आयोजित अर्को सभालाई सम्बोधन गर्दै साम्पाङले श्रमलाई सम्मान गर्ने संस्कार र उत्पादनमूलक गतिविधिको विस्तारबाट मात्रै देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राखेका थिए।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बुधबार



