सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरुङ्गा नगर सभापति मोहम्मद साबिर अली लागूऔषध गाँजा मुद्दामा पक्राउ परेका छन्।
प्रहरीका अनुसार अलीलाई बुधबार बिहान सप्तरीको सुरुङ्गा नगरपालिका–४, कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले उनको पक्राउबारे पुष्टि गरेको समाचारमा उल्लेख छ।
प्रहरीका अनुसार २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।
उक्त घटनापछि कारका चालक फरार रहेको र सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा अलीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहीबार



