एनपीएलमा कर्णाली याक्सको नयाँ दाउः बङ्गलादेशी युवा ब्याटर जिशन अलाम टोलीमा भित्रि
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि कर्णाली याक्सले बङ्गलादेशका युवा ब्याटिङ अलराउन्डर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।
कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिएका हुन्। उनका अनुसार जिशनको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङ थप मजबुत बन्ने अपेक्षा गरिएको छ।
२१ वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै राष्ट्रिय ‘ए’ टोलीबाट समेत खेलिसकेका खेलाडी हुन्। उनले बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट पनि आफ्नो खेल कौशल देखाइसकेका छन्।
जिशन कर्णाली याक्समा आबद्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकबर अली पनि टोलीमा अनुबन्ध भइसकेका छन्।
जिशनको क्रिकेट अनुभव र ब्याटिङ क्षमताले कर्णालीको बाँकी खेलमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ। उनले लिस्ट ‘ए’ क्रिकेटका ४९ खेलमा १ हजार २९५ रन बनाएका छन् भने २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५७१ रन जोडेका छन्।
प्रकाशित मिति: १७ कार्तिक २०८३, सोमबार



