काठमाण्डौ, (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन्। उनले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमको कार्यकालमा प्रहरी महानिरीक्षकलाई समयअगावै परिवर्तन गरिएको घटनाको स्मरण गराएका हुन्।
उनका अनुसार त्यसबेला आईजीपी परिवर्तन गर्ने निर्णय एमालेका लागि सुखद् बनेको थिएन। प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि एमालेले पार्टी विभाजनसम्मको गम्भीर राजनीतिक पीडा भोग्नुपरेको उनले उल्लेख गरेका छन्।
पोखरेलले विगतको उक्त घटनाबाट रास्वपा नेतृत्वको सरकारले पाठ सिक्न नसकेको टिप्पणी गर्दै प्रहरी नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयमा राजनीतिक निर्णय गर्दा त्यसको दीर्घकालीन असरसमेत विचार गर्नुपर्ने संकेत गरेका छन्।
प्रकाशित मिति: २० कार्तिक २०८३, बिहीबार



