८ मंसिर २०८३, सोमबार

एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने


काठमाण्डौ, प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि कसले जित्ने भन्ने टुंगो अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनलले लगाउने भएको छ।

 

शनिबार साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा साविक विजेता लुम्बिनी र साविक उपविजेता सुदूरपश्चिम आमनेसामने हुनेछन्।

 

बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो।

 

यससँगै सुदूरपश्चिमले एनपीएलका तीनवटै संस्करणमा फाइनल खेल्ने दुर्लभ उपलब्धि हासिल गरेको छ। रोचक पक्ष के छ भने लुम्बिनी र सुदूरपश्चिमबीच लगातार दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।

 

यसअघि पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। दोस्रो संस्करणमा पनि लुम्बिनीसँग फाइनल खेलेको सुदूरपश्चिम उपविजेतामै सीमित बनेको थियो।

 

अब तेस्रो प्रयासमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने अभियानमा छ। उता, लुम्बिनी भने अघिल्लो संस्करणको सफलता दोहोर्‍याउँदै लगातार दोस्रो पटक उपाधि उचाल्ने योजनामा मैदान उत्रिनेछ।

 

तीन सिजन, तीन फाइनल! के यसपटक सुदूरपश्चिमले इतिहास बदल्ला वा लुम्बिनीले फेरि उपाधि जोगाउला?


प्रकाशित मिति: ५ मंसिर २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?