काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रिको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा–आराधना गरी मनाइँदैछ।
धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीलाई शान्ति, साहस, शक्ति र पराक्रमकी प्रतीकका रूपमा पूजा गरिन्छ। देवीको शिरमा घण्टाको आकारको अर्धचन्द्र रहने भएकाले उहाँलाई चन्द्रघण्टा भनिएको धार्मिक विश्वास छ।
नवरात्रिका अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। भक्तजनले विधिपूर्वक पूजा–आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।
नवरात्रिमा नौ दिनसम्म नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। चन्द्रघण्टा देवीको आराधनाले भय हट्ने, आत्मविश्वास बढ्ने र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार



