८ मंसिर २०८३, सोमबार

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै


काठमाण्डौ, नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज कुकुर तिहार श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस अवसरमा घरघरमा कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मीठा परिकार खान दिएर पूजा गर्ने गरिन्छ।

 

यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

 

समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउने परम्परा छ।

 

धर्मशास्त्रअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाउँदा यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोकको यात्रा सहज बनाइदिने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राध्यापक रामचन्द्र गौतमले बताएका छन्।

 

धार्मिक मान्यताअनुसार कुकुरले महाभारतका पात्र धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्राका क्रममा समेत साथ दिएको थियो। आज्ञापालक, इमानदार र सुरक्षाका दृष्टिले भरपर्दो जनावर मानिने कुकुरलाई यस दिन विशेष सम्मान गरिन्छ।

 

नरक चतुर्दशीको धार्मिक महत्त्व

 

आज बिहान अरुणोदयकालमा नदी, तलाउ तथा विभिन्न तीर्थस्थलमा स्नान र तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर यमदीप बालेर बगाउने परम्परा छ। यसरी दीप बगाउँदा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। दीप बगाउने यस विधिलाई नरके बगाउने भनिन्छ।

 

यमपञ्चकका पाँचै दिन शरीरमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत छ। यस्तो अभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने आयुर्वेदिक मान्यता रहेको छ। यसरी तिहार धार्मिक, सांस्कृतिक तथा स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।


प्रकाशित मिति: २३ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?