९ मंसिर २०८३, मंगलवार

बालेनको भारत भ्रमणवारे महेश बस्नेत भन्छन:- पुरानै सहमति, नयाँ प्रचार र ऋणको भारी


काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन्। उनले भ्रमणका क्रममा प्रस्तुत गरिएका अधिकांश विषय पुरानै सहमति, अध्ययन र योजनाको निरन्तरता भएको दाबी गर्दै नयाँ उपलब्धिका रूपमा प्रचार गरिएकोप्रति आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले जनकपुर–अयोध्या रेल सेवा, भंगाहा–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्ग, रक्सौल–काठमाडौं रेलमार्ग, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँचचौकी तथा बन्दरगाह प्रयोगजस्ता विषय विगतदेखिकै सहमति र योजनाका निरन्तरता भएको उल्लेख गरेका छन्।

 

उनले पुराना विषयलाई पुनः प्रस्तुत गरेर नयाँ उपलब्धिको प्रचार गर्नु कूटनीतिक सफलता नभएको टिप्पणी गरेका छन्।

 

बस्नेतले नेपालको चुच्चे नक्सा, लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादबारे भ्रमणका क्रममा के ठोस प्रगति भयो भन्ने प्रश्नसमेत उठाएका छन्। महाकाली सन्धिसँग जोडिएका नेपालको अधिकार र सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकनको विषयमा पनि उनले स्पष्ट उपलब्धि नदेखिएको बताएका छन्।

 

त्यस्तै, भारतबाट घोषणा गरिएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको भन्दै उनले त्यसको प्रकृतिमाथि प्रश्न उठाएका छन्। उनका अनुसार उक्त रकममध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण र ५६ अर्ब रुपैयाँ अनुदान रहेको छ।

 

नेपालले भारतसँग पुराना सम्झौताको पुनःस्मरण र ऋणको घोषणा मात्र नभई सीमा विवाद समाधान, असमान सन्धिको पुनरावलोकन, व्यापार घाटा न्यूनीकरण र ठोस आर्थिक लाभ खोज्नुपर्ने बस्नेतको धारणा छ।

 

उनले अन्त्यमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा के नयाँ उपलब्धि हासिल गर्‍यो भन्ने प्रश्न गर्दै पुरानै सहमतिको प्रचार र ऋणको भारीलाई नै ऐतिहासिक सफलता मान्ने हो भन्दै टिप्पणी गरेका छन्।


प्रकाशित मिति: ९ मंसिर २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?