काठमाण्डौ, गत भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये पहिलो चरणमा २ हजार ४६५ जनालाई सरकारले कानुनी रूपमा मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ।
मृत घोषणा गर्न लागिएकामध्ये १७१ जना विदेशी नागरिक रहेका छन्। यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारी भइरहेको छ।
यसअघि प्रचलित कानुनअनुसार लामो समयसम्म बेपत्ता रहेका व्यक्तिलाई मृत मान्न तीनदेखि पाँच वर्षसम्म कुर्नुपर्ने वा अदालतको प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो। तर, गत असोज २३ गते जारी विपद्सम्बन्धी अध्यादेशमार्फत कानुनी व्यवस्था परिवर्तन भएपछि सरकारले छोटो प्रक्रियाबाटै मृत घोषणा गर्न सक्ने भएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो चरणमा सूचीमा परेका व्यक्तिहरू जीवित रहेको जानकारी वा दाबी भए सात दिनभित्र प्रमाणसहित पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
उक्त अवधिमा कुनै दाबी नआए प्राधिकरणले मन्त्रिपरिषद्मा नाम सिफारिस गर्नेछ। मन्त्रिपरिषद्को निर्णयपछि परिवारले सम्बन्धित वडा कार्यालयबाट अतिरिक्त शुल्कबिना मृत्युदर्ता प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
यस निर्णयपछि मृत घोषित व्यक्तिका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिपरिवार नभई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ। भविष्यमा मृत घोषित व्यक्ति जीवित अवस्थामा फेला परेमा भने उक्त निर्णय उल्ट्याउन सकिने प्रावधान पनि राखिएको छ।
प्राधिकरणको विवरणअनुसार उक्त बाढीमा कुल ५ हजार २८६ जना बेपत्ता भएका छन्। तीमध्ये ६३६ जना विदेशी नागरिक हुन्। पहिलो चरणमा ३१ जिल्लाका २ हजार २९४ नेपाली र सात देशका १७१ विदेशी नागरिकको नाम समावेश गरिएको छ।
पहिलो चरणको प्रक्रिया पूरा भएपछि बाँकी बेपत्ताहरूका लागि पनि तिहारपछि दोस्रो चरणमा सूचना जारी गरी कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रकाशित मिति: २६ कार्तिक २०८३, बुधबार



