८ मंसिर २०८३, सोमबार

ओलीको आह्वान : बात बहादुर होइन, काम बहादुर बनौँ


भक्तपुर, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा बढ्दै गएको घृणा, स्वार्थ र विध्वंसात्मक सोचलाई त्यागेर सकारात्मकता र रचनात्मक कार्यमा लाग्न सबैलाई आग्रह गरेका छन्।

 

सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले भाषण र आश्वासनमा मात्र सीमित नभई व्यवहारबाट काम गरेर देखाउने नागरिक बन्नुपर्ने बताएका हुन्।

 

उनले समाजमा गलत आचरण गर्ने व्यक्तिलाई पशुसँग तुलना गर्नु पनि पशुप्रतिको अन्याय हुने टिप्पणी गरे। पशुले मानिसले जस्तो षड्यन्त्र, छलकपट र अन्याय नगर्ने उनको भनाइ थियो।

 

ओलीले अत्यधिक लोभ, स्वार्थ र बेइमानीले मानिसलाई नैतिक रूपमा कमजोर बनाउने उल्लेख गर्दै प्रेम, करुणा, इमानदारी र सहकार्यलाई सामाजिक जीवनको आधार बनाउनुपर्नेमा जोड दिए।

 

सभ्य, समुन्नत र बस्नयोग्य समाज निर्माणका लागि राजनीतिक तथा आर्थिक विकाससँगै नागरिकको नैतिक, सांस्कृतिक र मानवीय चेतना पनि उन्नत हुन आवश्यक रहेको उनले बताए।

 

राम्रा सांस्कृतिक परम्पराको संरक्षण गर्दै समयअनुसार सुधार गर्नुपर्ने धारणा राख्दै ओलीले नयाँ पुस्तालाई अझ सभ्य, समृद्ध र सुन्दर समाज हस्तान्तरण गर्न सबैलाई निर्माणको बाटोमा अघि बढ्न आह्वान गरे।


प्रकाशित मिति: २५ कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?