राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू धार्मिक व्यक्ति भएको र मृत्युपछि स्वर्ग पुग्ने आशा राखेको बताएका छन्। तर स्वर्ग जानका लागि राजनीतिक विरोधीहरूलाई क्षमा गर्नुपर्ने भए पनि आफू त्यसो गर्न असमर्थ हुन सक्ने उनको स्वीकारोक्ति छ।
सीबीएस टेलिभिजनको चर्चित कार्यक्रम ‘६० मिनेट्स’ मा पत्रकार रस डाउथटसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्।
अन्तर्वार्ताका क्रममा मृत्युपछि मानिसलाई कसरी सम्झिइयोस् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नमा उनले आफू अनुपस्थित हुँदा मानिसहरूले आफ्नो कमी महसुस गरून् भन्ने आशा व्यक्त गरे।
त्यसपछि धार्मिक आस्थाबारे बोल्दै ट्रम्पले आफू धार्मिक भएकाले स्वर्ग जाने विश्वास राख्ने बताए। उनले नर्क जान नचाहेको पनि उल्लेख गरे।
तर राजनीतिक विरोधीहरूलाई माफ गर्न सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले स्पष्ट रूपमा ‘सक्दिनँ’ भन्ने जवाफ दिए। उनले आफ्ना केही राजनीतिक शत्रुप्रति घृणा रहेको र त्यो भावना सधैँ रहन सक्ने समेत बताए।
अन्तर्वार्तामा ट्रम्पले यूएफओ अर्थात् अज्ञात उड्ने वस्तुबारे पनि चर्चा गरे। उनले आफ्नो पहिलो र दोस्रो कार्यकालमा अमेरिकी वायुसेनाका अनुभवी पाइलटहरूसँग भेटेको र उनीहरूबाट आफूले अनौठा अनुभवहरू सुनेको खुलासा गरे।
यद्यपि आफू यूएफओसम्बन्धी विषयमा धेरै विश्वास नगर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: २५ कार्तिक २०८३, मंगलवार



