९ मंसिर २०८३, मंगलवार

एउटै पुरुषलाई आफ्नो पति दाबी गर्दै विमानस्थलमै तीन महिलाको हंगामा, सुरक्षाकर्मीलाई छुटाउनै मुस्किल!


राजधानी ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा एक पुरुषलाई लिएर तीन महिलाबिच विवाद भएपछि विमानस्थल परिसरमा निकै रमाइलो र तनावपूर्ण अवस्था सिर्जना भएको छ।

 

मलेसियाबाट बंगलादेश फर्किएका ती पुरुषलाई स्वागत गर्न पुगेका तीनै महिलाले आफू उनको पत्नी भएको दाबी गरेपछि विवाद सुरु भएको हो।

 

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा तीन महिलाले ती पुरुषलाई घेरेर आ–आफ्नो पति भन्दै आफूसँगै घर लैजान खोजेको देखिन्छ। सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तारै चर्किँदै गएपछि उनीहरूबिच गालीगलौज र हात हालाहालसमेत भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीनै महिला ती पुरुषलाई लिन विमानस्थल पुगेका थिए। तर, पुरुष विमानस्थलबाट बाहिर निस्किएलगत्तै उनलाई कसले आफ्नो घर लैजाने भन्ने विषयमा विवाद भएको बताइएको छ।

 

भिडियोमा एक महिला भावुक भएर रोइरहेको देखिन्छ भने अन्य दुई महिलाले पनि ती पुरुषमाथि आफ्नो अधिकार रहेको दाबी गर्दै चर्को बहस गरेका छन्। घटनाले विमानस्थलमा यात्रु तथा सर्वसाधारणको भीडसमेत लागेको थियो।

 

अवस्था नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दै महिलाहरूलाई छुटाएका थिए।

 

यद्यपि, ती पुरुष र महिलाहरूको पहिचान सार्वजनिक भएको छैन। तीनै महिला वास्तवमै ती पुरुषका पत्नी हुन् वा होइनन् भन्ने विषयको स्वतन्त्र पुष्टि पनि भएको छैन। विवादको वास्तविक कारणसमेत स्पष्ट हुन सकेको छैन।

 

घटनाको भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा विभिन्न व्यंग्यात्मक टिप्पणीहरू आइरहेका छन्।

 

एक प्रयोगकर्ताले ‘ती पुरुषमा त्यस्तो के विशेषता होला?’ भन्दै प्रश्न गरेका छन् भने अर्काले ‘तीनै जना एकैपटक विमानस्थल पुग्नु पनि गजबकै संयोग रहेछ’ भन्दै टिप्पणी गरेका छन्।

 

अर्का प्रयोगकर्ताले ‘चौथी महिला भने विमानस्थल पुग्ने मिति नै छुटाएर बसिछन्’ भन्दै व्यंग्य गरेका छन्।

 

केहीले ती पुरुषको मलेसियामै पनि अर्की पत्नी हुन सक्ने अनुमान गरेका छन्। तर यी सबै सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र अनुमान मात्रै हुन्।

 

 


प्रकाशित मिति: १ मंसिर २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?