९ मंसिर २०८३, मंगलवार

नेकपा उपत्यका प्रदेशकाे प्रशिक्षण मंसिर १२ गते राष्ट्रिय सभा गृहमा हुने


काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको उपत्यका प्रदेश समितिले आगामी मंसिर १२ गते बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। मङ्सिर १२ गते दिउसो १ बजे राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा हुने कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने आयोजकले जनाएको छ।

पार्टीले सञ्चालन गरिरहेको दुईमहिने राष्ट्रिय जागरण अभियानअन्तर्गत उपत्यका प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई एकीकृत रूपमा प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको इन्चार्ज हितमान शाक्यले जानकारी दिए।

आइतबार लैनचौरमा बसेको प्रदेश कार्यसंयोजन समितिको विस्तारित बैठकले प्रशिक्षण कार्यक्रममा उपत्यका प्रदेशअन्तर्गतका सबै महाशाखा, शाखा, उपशाखा तथा पार्टी सदस्यको सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको प्रदेश संयोजक विष्णु लामिछानेले बताए।

गत कात्तिक ७ गते उद्घाटन गरिएको राष्ट्रिय जागरण अभियानलाई पार्टीले आ–आफ्नो कार्यक्षेत्रमा तीव्रताका साथ अघि बढाइरहेको सहसंयोजक जगत् सिंखडाले जानकारी दिए।

प्रशिक्षण कार्यक्रममार्फत अभियानलाई थप प्रभावकारी बनाउँदै पार्टी संगठनलाई सुदृढ र कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने लक्ष्य राखिएको छ।


प्रकाशित मिति: ८ मंसिर २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?