काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ।
सरकारका प्रवक्ताले पार्टीकै निर्देशनमा आईजीपीको जिम्मेवारी फेरबदल गरिएको दाबी गरेका छन् भने रास्वपाका प्रवक्ताले पार्टीले कसैलाई पदबाट हटाउन निर्देशन नदिएको भन्दै उक्त दाबीको खण्डन गरेका छन्।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले केही गर्नुपर्ने भन्दै पार्टीबाट पनि निर्देशन आएको बताएका थिए। सोही निर्देशनका आधारमा आईजीपीको जिम्मेवारी फेरबदल गरिएको उनको भनाइ थियो।
तर, रास्वपाका प्रवक्ता जगदिश खरेलले पार्टीले कुनै पनि व्यक्तिलाई पदबाट हटाउन वा नियुक्त गर्न सरकारलाई निर्देशन नदिएको स्पष्ट पारेका छन्।
उनका अनुसार शनिबार बसेको पार्टी सचिवालय बैठकले सञ्चारमाध्यमका कार्यालयमा पुगेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाको अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको थियो। तर, कसैलाई पदबाट हटाउन वा जिम्मेवारीबाट मुक्त गर्न भने निर्देशन नदिएको उनले बताए।
सरकारका प्रवक्ताको भनाइबारे प्रतिक्रिया दिँदै खरेलले आईजीपी हटाउने निर्णय सरकारले नै गरेको भन्दै त्यसबारे सरकारले नै स्पष्ट पार्नुपर्ने बताएका छन्।
यसैबीच, मन्त्रिपरिषद्को बुधबारको बैठकले आईजीपी कार्कीलाई पदबाट हटाएर अपराध अनुसन्धान विभागमा कार्यरत अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। पदमुक्त कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णयसमेत सरकारले गरेको छ।
आईजीपी फेरबदलको निर्णयपछि सरकार र सत्तारूढ दलकै प्रवक्ताबीच फरक–फरक धारणा सार्वजनिक भएपछि निर्णयको आधार र जिम्मेवारीबारे राजनीतिक वृत्तमा चासो बढेको छ।
प्रकाशित मिति: २० कार्तिक २०८३, बिहीबार



