काठमाडौं, असोज २८। संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारले सिफारिस गरेका राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिको बुधबार बसेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो।
समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीवी जंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा छन्।
त्यसैगरी जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेर्चन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ।
सरकारले गत सेप्टेम्बर १८ मा विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। तीमध्ये १० जनाको नाम अनुमोदन भए पनि साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम समितिले अस्वीकृत गरेको छ।
साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम समितिले अस्वीकृत गरेको हो। जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाममा भने समितिले निर्णय स्थगित गरेको छ। उनको स्थायी आवासीय हैसियतलगायत विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै निर्णय पछि गर्ने जनाएको छ।
समितिबाट नाम अनुमोदन भएका प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन अब सम्बन्धित देशको सहमति लिनुपर्नेछ। सम्बन्धित देशबाट सहमति प्राप्त भएपछि औपचारिक नियुक्ति प्रक्रिया पूरा गरी उनीहरूलाई राजदूतका रूपमा कार्यभार सम्हाल्न पठाइनेछ।
नेपालको भारत, चीन र अमेरिकाजस्ता महत्त्वपूर्ण साझेदार मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नुलाई कूटनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहीबार



