काठमाण्डौ, मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा १३ जनाको ज्यान जाने गरी भएको दर्दनाक हायस दुर्घटनापछि काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकमा यात्रुवाहक सवारी सञ्चालनलाई थप व्यवस्थित र सुरक्षित बनाउन कडा नियम लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सार्वजनिक तथा भाडाका यात्रुवाहक सवारीसाधनका लागि नयाँ समयतालिका र सुरक्षा व्यवस्था लागू गरेको हो।
नयाँ नियमअनुसार अब उक्त सडकमार्ग प्रयोग गरेर हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेभन्दा अगाडि बल्खुबाट यस मार्गमा यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाइएको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारीसाधनको प्राविधिक परीक्षणलाई समेत अनिवार्य गरेको छ। गाडीको यान्त्रिक अवस्था तथा सुरक्षा पक्षको जाँच पूरा भएपछि मात्रै यात्रु लिएर गन्तव्यतर्फ जान पाइने व्यवस्था गरिएको छ।

त्यसैगरी, काठमाडौं जिल्लाभित्र पर्ने यस सडकखण्डका प्रहरी कार्यालयहरूले ट्राफिक प्रहरीसँग समन्वय गरी यात्रुवाहक सवारीसाधनको नियमित तथा अनिवार्य जाँच गर्नुपर्नेछ।
१३ जनाको ज्यान जाने गरी भएको पछिल्लो दुर्घटनाले काठमाडौं–हेटौँडा सडकको यात्रा सुरक्षा र सवारीसाधनको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। सम्भावित दुर्घटना रोक्ने उद्देश्यसहित प्रशासनले रातिको यात्रा नियन्त्रण र प्राविधिक परीक्षणमा कडाइ गरेको देखिन्छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै नयाँ नियमको पूर्ण पालना गर्न यातायात व्यवसायी, चालक तथा सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: २९ कार्तिक २०८३, शनिबार



