काठमाण्डौ, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू-राजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताउनुभएको छ।
रुसको राजधानी मस्कोमा सोमबार आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै उहाँले नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो।
भारत र चीनको बीचमा रहेको सार्वभौम भूपरिवेष्टित राष्ट्रका रूपमा नेपालले राष्ट्रिय हित र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई प्राथमिकता दिने उहाँको भनाइ थियो।
“राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वाधीनता वास्तविक स्वतन्त्रताका लागि अपरिहार्य छ,” भन्दै प्रचण्डले बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार सबै राष्ट्रलाई रहेको उल्लेख गर्दै सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित विश्व व्यवस्था बनाउनुपर्नेमा जोड दिनुभयो।
सत्तारुढ दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको सम्मेलनमा ७६ देशका ४८० प्रतिनिधि सहभागी थिए। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाउनुभएको थियो।
सम्बोधनमा प्रचण्डले बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकता, दक्षिण-दक्षिण सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने, स्थानीय मुद्रामा व्यापार र वैकल्पिक वित्तीय प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो।
ग्लोबल साउथ कच्चा पदार्थमा मात्र सीमित हुन नहुने भन्दै औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्ने उहाँको भनाइ थियो।
नेपालको शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणबारे चर्चा गर्दै उहाँले रुससँग शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउनुभयो।
प्रकाशित मिति: २ मंसिर २०८३, मंगलवार



